कुलमान हदैसम्म बेइमान भएर निस्किए, रास्वपामा समाहित भए पनि दलमा नलागेको भनेर ढाँटे


काठमाडौं, २३ पुष । जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार दलीय कि गैरदलीय भन्ने बहस सुरु भएको छ । सुरुमा प्रधानमन्त्री कार्कीले आफ्नो सरकार नागरिक सरकार भनेकी थिईन् । तर, उनको सरकारमा महत्वपूर्ण मन्त्रालय लिएका मन्त्रीहरु नै दलीय राजनीतिमा सक्रिय हुन थालेपछि भने नागरिक सरकारमाथि प्रश्न उठ्न थालेको छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले नागरिक सरकारमा बसेर दलको राजनीति गर्ने मन्त्रीहरुलाई किटान गरेर नै राजीनामा दिन निर्देशन दिएको कुरा बाहिरिएको छ । सबभन्दा बढि राजीनामा दिनुपर्ने माग उर्जामन्त्री कुलमान घिसिङको बारेमा छ । कुलमानले यो सरकारमा उर्जा, सहरी विकास र भौतिक पूर्वाधारजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मा लिएका छन् । सुरुमा उनी आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी अघि बढाईरहेका थिए ।

उज्यालो नेपाल पार्टी घोषणा गरेको दिन पनि आफू कुनै पार्टीमा नलागेको भनेर उनले जनतालाई ढाँटेका थिए । तर, समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन अर्थात पुष १४ गते भने उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भए । उनलाई रास्वपामा पहिलो वरियताको उपसभापति दिईएको छ । मन्त्री घिसिङ राजनीतिक गतिविधिमा बढि सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्कीले हालैको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिन सुझाएकी थिईन् ।

तर, कुलमानले अहिलेसम्म प्रधानमन्त्रीको निर्देशनको अवज्ञा गर्दै आएका छन् । प्रधानमन्त्री कार्कीले सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई पनि राजीनामा दिन भनेकी छिन् । उनीहरु तिनै जनाले अहिलेसम्म राजीनामा दिने मनशाय बनाएका छैनन् । हिजोमात्र कुलमानलाई दलको राजनीतिमा लागेकोबारे उठाईएको प्रश्नमा उनले अहिलेसम्म आफू कुनै पनि दलमा आवद्ध नभएको भनेर सार्वजनिक रुपमै ढाँटेका छन् ।

उनको उक्त अभिव्यक्ति यतिवेला भाइरल बनेको छ । कतिपयले कुलमान आफ्नो इमान जोगाउन नसकेको र बेइमान बनेर निस्किएको भनेर आलोचनासमेत सुरु गरेका छन् । दलीय आवद्धताबारे सोधिएको प्रश्नमा कुलमानले भनेका छन्–‘आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।’ file photo