कांग्रेसको विशेष महाधिवेशनमा ‘ओली मोडल’ को चर्चा, देउवाका लागि अझै विकल्प बाँकी


काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका नेता सुवास पोखरेलले विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आएर सम्बोधन गरेको खण्डमा ‘ओली मोडल’ अपनाउन पनि सकिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष महाधिवेशन हलले पुनः बाँकी अवधिका लागि देउवालाई सभापतिमा प्रतिस्पर्धा गर्ने ढोका खोलिदिन पनि सक्ने बताएका हुन् । महाधिवेशन हलमा आएर अपनत्व ग्रहण गरेको खण्डमा देउवालाई अझै विकल्प बाँकी रहेको उनको भनाइ छ ।

‘धेरै विकल्पमा हामी छलफल गर्न सक्छौं । सभापतिजी आउनुभयो भने आफ्ना कुराहरु राख्नुहोला । सभापतिलाई लड्ने इच्छा भयो भने बाँकी अवधिका लागि उम्मेदवारी दिएर ओली मोडल पनि विकल्प हुनसक्छ,’– उनले भने ।

सभापति देउवा महाधिवेशन हलमा आएर सम्बोधन नगरेको खण्डमा नेतृत्वका लागि विकल्प महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नै रहेको उनको भनाइ छ ।

‘गगन थापाले यसको स्वामित्व बढी लिनुभएको छ । सुरुमा उहाँले नै यो कुरालाई उठाएको हो । हामीले पनि उठाएका हौं । अर्का महामन्त्रीले पनि त्यसलाई साथ दिनुभयो । अहिले दुई महामन्त्री हुनुहुन्छ । दुई महामन्त्रीभित्र नै हामी नेतृत्व खोज्छौं,’– नेता पोखरेलले भने ।

विशेष महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का आएर स्वामित्व लिएको खण्डमा परिस्थिति बदलिन सक्ने र उनकै नेतृत्वमा कांग्रेस चुनावमा जाने सम्भावना रहेको पनि नेता पोखरेलले बताए ।