महामन्त्रीद्वय थापा र शर्मासँग छलफलमा देउवा


काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिरहेका छन् । मंगलबार राति अबेरसम्म विभिन्न चरणमा भएका द्वीपक्षीय र समूहका आन्तरिक छलफलबाट सहमति नभएपछि महामन्त्रीद्वयले देउवा निवास महाराजगञ्ज पुगेर भेटवार्ता अघि बढाएका हुन् ।

कांग्रेस नेता टेकराज पौडेलका अनुसार संस्थापन र विशेष महाधिवेशन पक्षधरका वार्ता टोलीबीच सहमति नभएपछि महामन्त्रीद्वय थापा र शर्मा आफै छलफलमा जुटेका हुन्। विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता निष्कर्षमा नपुगेको अवस्था र निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा उनीहरूबीच भेट हुन लागेको पौडेलले जानकारी दिए ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका बेला पार्टी फुटको संघारमा पुगेपछि सभापति देउवाले अन्तिम पटक छलफलका लागि दुई महामन्त्रीलाई महाराजगञ्ज बोलाएका हुन् । अन्तिम निर्णयको रूपमा हेरिएको यस वार्तामा संस्थापन पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी छन् भने शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाललगायत नेताहरू उपस्थित छन्।

नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन तन्काएर आजसम्म सारिए पनि पार्टीभित्रको विवादको गाँठो अझै फुकेको छैन। पार्टीलाई फुट्न नदिन सभापति र महामन्त्रीद्वयबीचको आजको वार्तामा मंगलबार मिल्न बाँकी रहेका विषयमा सहमतिको प्रयास हुने अपेक्षा गरिएको छ।

सभापति देउवाले उम्मेदवारको टिकटमा हस्ताक्षर नगर्ने, देउवाले आगामी चुनाव लड्न नपाउने र नयाँ नेतृत्व चयन गर्ने विषयमा सहमति जुट्न बाँकी छ। देउवाका हस्ताक्षर छाड्न सकारात्मक देखिएपनि नियमित महाधिवेशनमा नपुग्दै अहिले राजीनामा दिएर छाड्ने प्रस्ताव भने मुख्य असहमतिको विषय बनेको जनाइएको छ । संस्थापन पक्षबाट सहमतिको अन्तिम प्रयास भइरहे पनि विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम यथावत् अघि बढाइएको छ।