गगन थापा नेतृत्वको कांग्रेसले नै आधिकारिकता पाउँछः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)


काठमाडौं, २ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले थापा पक्षधरले आधिकारिकता पाउनेगरी आयोगमा सबै कागजात पेश गरेको बताएका हुन् । महाधिवेशनको लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको, विशेष महाधिवेशनको मिति तोकिएको, निर्वाचन समिति गठन गरिएको, महाधिवेशनले नेतृत्व चयन गरेकोलगायतका डकुमेन्टहरु आयोगमा पेश गरिएको उनले बताए ।

‘गगन थापा पक्षले ने आधिकारिता पाउँछ । निर्वाचन आयोगलाई सबै डकुमेन्ट पेश गरिएको छ । महाधिवेशन बोलाइएको, ५४ प्रतिशतको हस्ताक्षर, मिति तोकिएको, महाधिवेशनको बैठक बसेको, त्यसले आफ्नो निर्वाचन समिति गठन गरेको, निर्वाचन तालिका सार्वजनिक गरेको, पुरानो कार्यसमिति विघटन गरेको । महाधिवेशनले नयाँ नेता चुनिसकेपछि निर्वाचन आयोगको कानूनी कर्तव्य के हो भने राजनीतिक दलसम्बन्धी ऐन बमोजिम विवरण अध्यावधिक गर्नुपर्छ,’– उनले भने ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले विशेष महाधिवेशन वैधानिक रहेको दाबी गरे । विशेष महाधिवेशनबारे कांग्रेसको विधानको धारा १७ (२) मा ‘केन्द्रीय समितिले आवश्यक ठानेमा वा प्रतिनिधिहरुको ४० प्रतिशतले हस्ताक्षरसहित माग गरेमा विशेष महाधिवेशन बोलानुपर्ने छ’ भनी बाध्यात्मक व्यवस्था गरेको बताए । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरेपछि कसैले यसलाई नबोलाउने छुट नरहेको बताए । ।

‘यो महाधिवेशन प्रतिनिधिहरुको विशेष अधिकार हो । महाधिवेशन भयो, त्यो महाधिवेशन सर्वोच्च निकाय हो । विधानलाई नेपालको संविधान र राजनीतिक दल सम्बन्धी कानूनले पनि चिनेको छ । यसले पार्टीको विधान पनि संशोधन गर्न सक्छ, नयाँ कार्यसमिति पनि चयन गर्न सक्छ,’– वरिष्ठ अधिवक्ता त्रिपाठीले भने ।