काठमाडौं, २ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन् । प्रेस चौतारी नेपाल, दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै सरकारलाई उक्त निर्णय तत्काल सच्याउन आग्रह गरे ।
उनले भदौ २३ र २४ गते भएका घटनाहरूलाई सामान्य आन्दोलनको रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै त्यसको अन्तर्य अहिलेका निर्णयहरूले नै पुष्टि गरिरहेको बताए । “प्रहरी र अदालतजस्ता संवैधानिक निकायमाथि आक्रमण हुनु सामान्य विषय होइन”, महासचिव पोखरेलले भने,– यस्ता गतिविधिलाई ढाकछोप गर्ने निर्णयले हिंसा र अराजकतालाई प्रोत्साहन गर्छ ।
पार्टी अद्यावधिक हुने प्रक्रियाबारे बोल्दै महासचिव पोखरेलले राजनीतिक दल पुराना–नयाँ नभई नीति र नेतृत्व अद्यावधिक गर्ने आधारमा नयाँ हुने बताए । “रास्वपाभन्दा एमाले बढी अद्यावधिक नयाँ पार्टी हो”, उनको दाबी छ । पपुलिजमलाई अराजकतावादको संज्ञा दिँदै यसले लोकतन्त्रलाई खतरातर्फ धकेल्ने महासचिव पोखरेलको भनाइ छ ।




प्रतिक्रिया