जसपा नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा-१ बाट टिकट पक्का


काठमाडौं ५ माघ । पूर्व मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ का निवर्तमान सांसद प्रदीप यादव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा उनी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहितका नेता–कार्यकर्तासहित गएराति जनता समाजवादी पार्टी (जसपा) त्यागेर एमालेमा प्रवेश गरेका हुन्।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन। गत भदौ २३ र २४ मा भएको जेनजी युवा आन्दोलन अघिसम्म यादव ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए। जेन-जी आन्दोलनपछि यादवले अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको समन्वय समिति सदस्यको जिम्मेवारीमा थिए। स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले यादवलाई पर्सा क्षेत्र नम्बर १ बाट पुनः प्रतिनिधि सभा निर्वाचन लड्न टिकट दिनेछन् ।

आइतबार जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको १२ बुँदे एकता सम्झौतापछि गठित ४३ सदस्यीय केन्द्रीय समन्वय समितिमा उनलाई स्थान नदिएपछि यादव असन्तुष्ट बनेका थिए ।

पर्सा क्षेत्र नम्बर १ बाट लगातार दुई पटक सांसद निर्वाचित भइसकेका तथा तीन पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका यादव आसन्न निर्वाचनमा सोही क्षेत्रबाट पुनः उम्मेदवारी दिने तयारीमा रहेपनि पार्टीले सो क्षेत्रबाट जिल्ला अध्यक्ष रामनरेश यादव वा पूर्व मुख्यमन्त्री लालबाबु राउतमध्ये एकलाई अघि सार्ने तयारी गरेको र जिल्ला समितिले समेत उम्मेदवार सिफारिस गर्दा यादवको नाम छुटाएपछि उनी गएराती गुन्डु पुगेर एमाले प्रवेश गरेका हुन ।

केन्द्रीय समितिमा स्थान नपाउनुका साथै आफूले जित्दै आएको क्षेत्रबाट टिकट नपाउने अवस्था देखिएपछि यादवले जसपा नेपालसँगको सम्बन्ध टुंग्याउने निर्णय लिएको स्रोतको दाबी छ ।