हनोई, ५ माघ। भियतनामको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सम्मेलन अर्थात् सत्तारूढ कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सोमबारदेखि राजधानी हनोईमा सुरु भएको छ । यस काङ्ग्रेसले आगामी पाँच वर्षका लागि देशको नेतृत्व चयन गर्नुका साथै राजनीतिक र आर्थिक नीतिको समग्र दिशा तय गर्नेछ ।
भियतनामभरबाट करिब एक हजार ५८८ प्रतिनिधि हनोईमा भेला भएका छन् । प्रत्येक पाँच वर्षमा आयोजना हुने यो काङ्ग्रेस पार्टीको सर्वोच्च निर्णय गर्ने मञ्च हो । काङ्ग्रेसले करिब २०० सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ, जसबाट १७ देखि १९ सदस्य रहने शक्तिशाली पोलिटब्युरो गठन हुनेछ ।
काङ्ग्रेसको मुख्य चासो सन् २०३१ सम्म भियतनामको नेतृत्व कसले गर्ने भन्नेमा केन्द्रित छ । साथै, एकदलीय शासन प्रणालीले विश्वव्यापी अस्थिरता र बदलिँदो भू–राजनीतिक अवस्थासँग कसरी जुध्ने भन्ने प्रश्न पनि यसै बैठकबाट स्पष्ट हुने अपेक्षा गरिएको छ । भियतनामले सन् २०४५ सम्म उच्च आय भएको देश बन्ने महत्त्वाकांक्षी लक्ष्य लिएको सन्दर्भमा यो काङ्ग्रेसलाई निर्णायक मानिएको छ ।
कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई पूर्ण पाँच वर्षे कार्यकालका लागि पुनः पुष्टि गरिने लगभग निश्चित देखिन्छ । उनले पार्टी प्रमुख र राष्ट्रपतिको भूमिका एकै व्यक्तिमा केन्द्रित गर्ने कदम चाल्नुहुन्छ कि भन्ने विषयलाई पनि गम्भीर रूपमा हेरिएको छ । यदि यस्तो भयो भने, परम्परागत ‘चार स्तम्भ’ प्रणाली कमजोर भई शक्ति केन्द्रीकरण बढ्ने र टो लाम दशकौँयताकै सबैभन्दा प्रभावशाली नेता बन्ने सम्भावना छ ।
टो लामले विगत वर्षहरूमा प्रशासनिक सुधार, पूर्वाधार विकास र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिएको छ । उनको नेतृत्वमा भ्रष्टाचारविरुद्धको कारबाहीका क्रममा पोलिटब्युरोका उच्च तहका नेताहरू समेत पदबाट हटेका थिए, जसले पार्टीभित्र शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याएको छ ।
काङ्ग्रेसको अर्को महत्त्वपूर्ण पक्ष भियतनामको दीर्घकालीन आर्थिक मार्गचित्र हो । प्रतिनिधिहरूले सन् २०२६ देखि २०३० सम्म औसत वार्षिक १० प्रतिशत वा सोभन्दा बढी आर्थिक वृद्धि गर्ने लक्ष्यसहितको प्रस्तावित सङ्कल्पलाई अन्तिम रूप दिनेछन् । सन् २०२५ मा भियतनामको अर्थतन्त्र ८ प्रतिशतले बढेको थियो ।
यस लक्ष्य हासिल गर्न उद्योग स्तरोन्नति, उत्पादनको आधुनिकीकरण, विज्ञान, प्रविधि र डिजिटल अर्थतन्त्रमा बढी लगानी गर्ने नीति अघि सारिएको छ । निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख प्रेरक शक्तिका रूपमा स्वीकार गर्नु, राज्य स्वामित्वका कम्पनीहरूको प्रभुत्व क्रमशः घटाउँदै लैजानु र उच्च प्रविधिमा आधारित उत्पादन बढाउनु यस रणनीतिको केन्द्रमा छन् ।
साथै, विदेश नीति र अन्तर्राष्ट्रिय एकीकरणलाई राष्ट्रिय सुरक्षा बराबर महत्त्व दिइएको छ, जसले भियतनामको निर्यातमुखी अर्थतन्त्र विश्व बजारसँग कति गहिरो रूपमा जोडिएको छ भन्ने देखाउँछ । द्रुत आर्थिक वृद्धिसँगै बढ्दै गएको वातावरणीय दबाबलाई ध्यानमा राख्दै आर्थिक तथा सामाजिक विकाससँगै वातावरण संरक्षणलाई पनि केन्द्रीय प्राथमिकतामा राखिएको छ । रासस




प्रतिक्रिया