झापा पुगेर ओलीले भने- हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु


काठमाडौं, माघ ६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको भन्दै सन्देश दिएका छन्। झापा–५ बाट उम्मेदवारी दिन सोमबार दमक पुगेका ओलीले हराएका र भत्किएका सपनाहरूलाई आजैबाट रोपाइँ सुरु हुने सन्देश दिएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीले भनेका छन्, ‘शुभ विहानी! हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ।’

उनले आगामी निर्वाचनमा एमालेले जित्ने विश्वास व्यक्त गरे। ‘हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस्!’ उनले भनेका छन्।

आउने फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ। यसै क्रममा झापा क्षेत्र नम्बर ५ मा हुने उम्मेदवारी दर्तालाई महत्वका साथ हेरिएको छ । उक्त क्षेत्रबाट निर्वाचन लड्न लागेका एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । शाहले अहिले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका छ भने ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै छन्।