ओलीको चेतावनीः आन्दोलनको नाममा अरुको घर जलाउनेहरुलाई कारबाही भएन, समय आउँछ


काठमाडौं, ७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको नाममा घर जलाउनेहरुलाई सरकारले कारबाही नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (बुधबार) झापामा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरुको अवलोकनका क्रममा ओलीले अहिलेको सरकार तिनै आगो लगाउनेहरुकै रहेको बताए ।

सरकारले ती आगो लगाउनेहरुलाई जोगाउने काम गरिरहेको पनि ओलीको आरोप छ । ‘अहिलेको सरकार सायद उनीहरूकै हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ,’– एमाले अध्यक्ष ओलीले भने ।

ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने बताए । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने उनको माग छ ।

अध्यक्ष ओलीले अपराधलाई प्रोत्साहित गर्न नहुने पनि बताए । उनले भने, ‘त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो । तर, सरकार उनीहरूकै हो सायद । कारबाही भएको छैन ।’

आन्दोलनको नाममा आगजनी गर्नेहरुलाई कारबाही गर्ने समय आउने पनि उनले बताए । उनले देशलाई शान्तिपूर्ण बस्नलायक देश बनाउनुपर्ने बताए । ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ,’– उनले भने ।