माघ शुक्ल चतुर्थीः माधवनारायणका वर्तालुद्वारा पनौतीमा पूजा


काठमाडौँ, ८ माघ । पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका वर्तालुले माधवनारायण भगवान्लाई काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक सहर पनौतीमा पु¥याएर विधिपूर्वक पूजाआराधना गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल चतुर्थीका दिन पनौतीमा माधवनारायणको पूजाआराधना गर्ने व्रतविधिअनुसार आज पूजा गरिएको हो ।

प्रत्येक वर्ष माघशुक्ल तृर्तीयाका दिन माधवनारायण व्रत बसेका वर्तालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शालीनदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे छ । बुधबार दिउँसो पनौती हिँडेका वर्तालु भक्तपुर हुँदै बेलुकी काभ्रेपलाञ्चोकको पनौती पुगेका थिए । वर्तालुले आज बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि माधवनारायणलाई विशेष पूजाआराधना गरेका हुन् । माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो ।

स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर सांस्कृतिक सहर पनौती परिक्रमा गरिएको थियो । बिहानको स्नान र विधिपूर्वक पूजा, आराधना सकेपछि माघशुक्ल चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिँदै छ । भोजनपछि वर्तालु साँखुस्थित शालीनदीतिर लाग्ने जनाइएको छ । वर्तालु बेलुकीसम्म शालीनदी पुग्नेछन् ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका वर्तालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए ।

साँखुस्थित शालीनदी मेलामा शनिबार र सार्वजनिक बिदा परेका दिन भक्तजनको घुइँचो लाग्ने गरेको छ । शालीनदीमा एक महिने माधवनारयण मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवालगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायातमा घुइँचो हुन्छ ।

मेलाको मौका छोपेर सार्वजनिक यातायातका सहचालकले बढी भाडा लिने गरेका भक्तजनको गुनासो छ । सार्वजनिक यातायातमा टिकट दिएर यात्रा गराउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो नगरी यात्रु ठग्ने काम भइरहँदा पनि सरोकार भएका सरकारी निकायको ध्यान नगएको उपभोक्ता अधिकारवादीको भनाइ छ । रासस