नेपाल जोगाउनका लागि राजसंस्था र हिन्दु अधिराज्य अपरिहार्य छः दुर्गा प्रसाईं भिडिओसहित)


काठमाडौं, ८ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था र हिन्दु अधिराज्यको महत्व नेपालीहरुले बुझ्न बाँकी नरहेको बताएका छन् । आज (बिहीबार) भिडिओ सन्देश जारी गर्दै प्रसाईँले राज संस्था र हिन्दु अधिराज्य अन्य देशबाट छिमेकी मुलुक चीन र भारतमाथि आक्रमण हुँदा पनि जोगाउने छहारी बन्न सक्ने बताएका छन् । साथै, नेपालमा रहेका दलहरुको पनि राजसंस्था छहारी बन्न सक्ने उनले बताएका छन् ।

उनले राज संस्था र हिन्दु अधिराज्य नेपालको लागि अपरिहार्य भइसकेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘बेलैमा राष्ट्रवादी शक्तिहरु, दलहरु र राष्ट्रबाट बाहिर रहनुभएका नेपालीहरुले अब के बुझ्न आवश्यक छ भने– राजसंस्था र हिन्दु अधिराज्य यो देशको लागि अपरिहार्य छ देश जोगाउन ।’

साथै, उनले आगामी माघ १२ गते पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरको जानकी मन्दिरमा पुजा आरधनाका लागि जाने कार्यक्रम रहेको र त्यसमा सहभागी हुन पनि अपिल गरेका छन् । उनले माघ १६ गते सिराहाको लाहनामा पनि बृहत आमसभा रहेको र त्यसमा पनि सहभागी हुन राष्ट्रवादी शक्तिहरुलाई आग्रह गरेका छन् ।

‘महाराजधिराजको यही माघ १२ गते हुने जनकपुरधाम राज जानकी मन्दिरको पुजा आरधनामा सहभागी हुन आउने कार्यक्रममा सम्पूर्ण राष्ट्रवादीहरुलाई एक ढिक्का भएर आउन म आह्वान गर्छु । साथै, माघ १६ गते सिराहको लाहनमा हुने बृहत आमसभामा सरिक भइदिन हुन पनि अनुरोध गर्दछु,’– उनले आग्रह गरेका छन् ।