दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय


काठमाडौं, ८ माघ । सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा खण्ड आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अनुदान सहायता स्वीकार गर्नेलगायत अन्य निर्णय गरेको सरकारका प्रवक्ता गृहमन्त्री ओम प्रकाश अर्यालले बताए ।

त्यस्तै, मन्त्रिपरिषद्ले गत भदौ २३ र २४ गतेको घटना छानविन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।

‘भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने,’– गृहमन्त्री अर्यालले निर्णय जानकारी गराउँदै भने ।