उम्मेदवारी फिर्ताको हल्लापछि आशिका भन्छिन् : हल्लाको पछि नलागौं, जनप्रतिनिधि बनेर आउँछु


काठमाडौं, ९ माघ । रास्वपाबाट धादिङ-१ की प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बनेकी आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता लिने हल्लाको पछि नलाग्न आग्रह गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत आफूले उम्मेदवारी फिर्ता लिन लागेको भन्ने कुरा हल्लामात्रै भएको भन्दै त्यसकोपछि नलाग्न भनेकी छिन् ।

उनले आफू चुनाब जित्न उठेकोले उम्मेदवारी फिर्ता नभएर जनताको प्रतिनिधि बनेर आउने दाबी गरेकी छिन् । उनले जर्मनीको पिआर लिएको भनिएको थियो । जसमा उनले आफूले पिआर नभएर टिआरमात्रै लिएको स्पष्ट पारेकी छिन् । विभिन्न मिडियामा भने उनले उम्मेदवारी फिर्ताको लागि विद्युतीय माध्यम (इमेल) मार्फत निवेदन दिएको समाचार आएका थिए । तर, उनले ती समाचारको खण्डन गर्दै आफूले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छिन् ।