काठमाडौं, ९ माघ । लामो संघर्षपछि शान्तिपूर्ण राजनीतिमा आएका नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसदीय चुनावमा भाग लिने भनेर निर्वाचन आयोगमा तामझामका साथ दल दर्ता गराए । उनले युवा युवतीको निकै आकर्षक मानिने गुलावको फूल चुनाव चिह्न लिए । धेरैले बन्दुक खेलाएका विप्लवले गुलावको फूल चुनाव चिह्न लिएको भन्दै टिप्पणीसमेत गरे ।
निर्वाचन आयोगले तोकेको दिन विप्लवले कहाँबाट मनोनयन दर्ता गराउँछन् भनेर धेरैले निकै चासोका साथ हेरेका थिए । पहिलोपटक संसदीय राजनीतिमा होमिएको उनको दलप्रति सबैको चासो हुनु स्वभाविक नै थियो । तर, विप्लवले मनोनयन दर्ता नै गराएनन् । नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले कालिकोटबाट मनोनयन दर्ता गराएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियाले ‘हारिन्छ भन्ने डरले तपाईँ चुनाव नलड्नुभएको हो ?’ भनी विप्लवलाई सोधेको प्रश्नमा उनले महासचिव पार्टी सञ्चालनमै बस्नुपर्छ भन्ने सल्लाह भएबमोजिम आफूले मनोनयन दर्ता नगराएको बताए ।
‘प्रकाण्ड कमरेडको नेतृत्वमा चुनावमा सहभागी बनौं । महासचिव चाहिँ अहिले पार्टी सञ्चालनमै बसौं भन्ने हाम्रो सल्लाह भयो । धेरैको सुझाव पनि हामीले लियौं । रोल्पाली जनताले दुःख पनि मान्नुभएको छ । अहिलेको स्थितिमा पार्टी चलाउनेगरी नै सोच्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया