उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र वर्षा, किसान हर्षित


काठमाडौं, १० माघ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भू–भाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार बेलुकादेखि कणाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातपछि चिसोका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले किसानमा हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको छ ।