जुम्ला, माघ १० । जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिना साउनदेखि मङ्सिरसम्म ९ दशमलव ४ प्रतिशतमात्र पुँजीगत बजेटको खर्च भएको छ ।
प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलका अनुसार समीक्षा अवधिमा चालुतर्फ कुल बजेटको पाँच महिना अवधिमा १५ दशमलव १९ प्रतिशत खर्च भएको छ । कुल बजेटको पुँजीगततर्फ ९ दशमलव ४ प्रतिशत मात्र बजेटको खर्च भएको बताए।
चालु आव २०८२–८३ का लागि पुँजीततर्फ एक अर्ब ११ करोड ८७ लाख १३ हजारको बजेट विनियोजन भएको छ । चालु आवको पाँच महिनासम्म पुँजीततर्फ १० करोड ११ लाख १५ अर्थात् ९ दशमलव ४ प्रतिशतमात्र विकासे बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलले जानकारी दिए ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकास कार्यालय जुम्लाको कुल बजेटको पुँजीततर्फ ९ करोड ११ लाख ९४३ रुपैयाँ खर्च भएको छ । उक्त कार्यालयको समग्र वित्तिय प्रगति १९ दशमलव ३३ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाले जनाएको छ ।
बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको कर्णाली प्रदेश सरकारको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारको मातहतभित्र १२ वटा कार्यालय रहेका छन् । रासस




प्रतिक्रिया