टी-२० महिला विश्वकप ग्लोबल छनोट : आज नेपाल र जिम्बाब्वे भिड्दै


काठमाडौं, माघ १० । आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आजपनि चार खेल हुँदैछ । आज हुने खेलमा नेपाल र जिम्बाब्वे भिड्नेछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरू हुनेछ ।

दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । नेपाललाई सुपर सिक्सको सम्भावना जीवित राख्न आजको खेलमा जितको विकल्प छैन । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

यता जिम्बाब्वेपनि आफ्नो पछिल्लो ५ खेलमा पराजित भएको छ । छनोटको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २२ रनले पराजित हुँदै छनोटको शुरुवात गरेको जिम्बाब्वेले दोस्रो खेलमा थाइल्याण्डसँग एक रन र तेस्रो खेलमा स्कटल्याण्डसँग ५ विकेटले पराजित भएको थियो । आजै हुने अन्य खेलमा स्कटल्याण्ड र थाइल्याण्ड, नामिबिया र पपुवा न्युगिनी तथा बंगलादेश र आयरल्याण्ड भिड्नेछन् ।