कुलमानको प्रष्टोक्ति : प्रधानमन्त्री र आन्दोलनका अगुवाहरूको आग्रहमा मन्त्री पदको जिम्मेवारी स्वीकारेको हुँ


काठमाडौं, माघ १० । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा आफ्नो सहभागिता र त्यसपछि राजनीतिमा प्रवेशबारे उठेका आलोचनाबारे स्पष्टीकरण दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत घिसिङले जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारमा आफू बाध्यात्मक परिस्थितिमा सहभागी भएको स्पष्ट पारेका हुन् ।

उनले आन्दोलनपछिको विषम अवस्थालाई ध्यानमा राख्दै तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनका अगुवाहरूको आग्रहमा मन्त्री पदको जिम्मेवारी स्वीकार गरेका उल्लेख गरेका छन् ।

यस्तो छ कुलमानको भनाई

जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा मेरो सहभागिताबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की तथा जेन–जी आन्दोलनका अगुवाहरूको अनुरोधमा मैले सरकारमा सहभागिता जनाएको हुँ। सरकारमा सहभागी हुने बेलामै मैले भविष्यमा राजनीतिमा जाने सोच स्पष्ट रूपमा राख्दै यो गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको थिएँ। तर तत्कालीन परिस्थितिमा मेरो सहभागिता आवश्यक भएको, जेन–जी आन्दोलनका भाइबहिनीहरूको पनि यही माग रहेको र पछि राजनीतिमा जानु परेमा राजीनामा दिएर जान सकिने सम्मानीय प्रधानमन्त्रीको आग्रहपछि मैले जिम्मेवारी स्वीकार गरेको हुँ। यस विषयलाई सम्माननीय प्रधानमन्त्री स्वयंले सार्वजनिक रूपमा पनि उल्लेख गर्दै आउनुभएको छ। आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला चुनौती स्वीकार गर्दै मैले जिम्मेवारी सम्हालेको हुँ। आफ्नो अडान प्रष्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ। म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामकारबाहीहरूले मेरो जिम्मेवारीबोध पुष्टि गर्छन्। अतः मेरो विरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायसहित भइरहेका भ्रमपूर्ण प्रचार र टिकाटिप्पणीबाट प्रभावित नहुन सबैमा हार्दिक आग्रह गर्दछु। उज्यालो नेपाल निर्माणका लागि म आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहनेछु।