भावी प्रधानमन्त्रीका उम्मेदवार : चुनावी वार्मअप पछि कोशीबाट ओली र बालेन काठमाडौं फर्किए, कांग्रेस सभापति गगन थापा भोलि मधेश झर्दै


काठमाडौं, १० माघ । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेदवारहरुले प्रचारप्रसारलाई यसपटक भने सुरुबाटै आक्रामक बनाएका छन्। खासगरी रास्वपाका वरिष्ठ नेता बालेन शाहले यसपटकको निर्वाचनमा देशकै सबभन्दा बलिया उम्मेदवार मानिएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रोजेको कारण पनि २१ फागुनको प्रतिनिधिसभाको निर्वाचन रोचक बनेको छ । अर्को रोचक विषय त के भने छ यी दुवै उम्मेदवारलाई आ आफ्नो पार्टीले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् । कांग्रेस बदलेर देश बदल्ने अभियानमा होमिएका नवनिर्वाचित सभापति गगनकुमार थापाले पनि आफ्नो पूरानो निर्वाचन क्षेत्र छोडेर मधेश प्रदेशको सर्लाही ४ रोज्नु अर्को चर्चाको विषय छ । सो क्षेत्रमा हालै रास्वपा प्रवेश गरेका र यसअघिदेखि निर्वाचन जित्दै आएका डा. अमरेशकुमार सिंह प्रतिष्पर्धामा छन् ।

गगन र अमरेशबीच हुने चुनावी प्रतिष्पर्धाले पनि माहोल तातेको छ। उम्मेदवारी मनोनयनको लागि बालेन जनकपुरबाट अघिल्लो रात झापा पुगेका थिए । एमाले अध्यक्ष ओलीपनि अघिल्लो दिन अर्थात माघ ५ गतेमात्रै झापा पुगेका थिए । ओली काठमाडौंबाट यति एयरलाईन्सबाट झापा पुग्दा बालेन भने जनकपुरबाट स्थलमार्ग हुँदै झापा पुगेका थिए । दुवैले आफ्नो शक्ति देखाउँदै उम्मेदवारी दर्ता गराए । मनोयनन कार्यक्रम चल्दै गर्दा दुई पक्षबीच केहीबेर तनावको अवस्था सिर्जना भएको थियो । बालेनले आफूले डेरा लिएर बसेको मुकाममै राजनीतिक र चुनावकेन्द्रित भेटर्वाता गरे ।

उनको झापा बसाई एकदमै व्यस्त थियो । ओलीले पनि आफूलाई चुनावी अभियानमा नै सक्रिय बनाएका थिए । विगतको निर्वाचनभन्दा ओलीले यसपटक अलिक गम्भीर रुपमा निर्वाचनलाई लिएका छन् । उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसँग गहन सम्वाद र छलफल गरेको चर्चा छ । ओली झापामै सक्रिय रहेर आजमात्रै काठमाडौं फर्किए । उता, उनका प्रतिष्पर्धीको रुपमा राजनीतिक मैदानमा रहेका बालेनले भने पूर्वी जिल्लाहरुको भ्रमण गरे । पाथीभरा माताको दर्शन गरे । आज साँझ विराटनगरबाट काठमाडौं फर्किए ।

यता, कांग्रेस सभापति थापाले भने यसपटक आफ्नो उम्मेदवारी वारेसमार्फत गराए । उनी आँफै उपस्थित् भएर उम्मेदवारी दर्ता गराउने भनिएको थियो । तर, टिकट वितरणको व्यस्ततामा हुँदा थापाले यसपटक भौतिक रुपमा उपस्थित् भएर उम्मेदवारी दर्ता गराउन पाएनन् । तर, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थितिमा उनको उम्मेदवारी दर्ता भएको छ । उनका प्रतिष्पर्धीको रुपमा चुनावी मैदानमा रहेका सर्लाही ४ का उम्मेदवार डा. अमरेशकुमार सिंह भने माघ ६ गते साँझदेखि नै चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

थापा भने भोलिमात्रै आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।यसपटक कांग्रेसले सभापति थापालाई नै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा होमिने भनेर केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएको छ । बालेन र ओली चुनावी वार्मअप क्याम्पेन सकेर काठमाडौं फर्किएका छन् । गगन भने भोलिमात्रै आफ्नो क्षेत्रमा पुग्ने कार्यतालिका सार्वजनिक भएको छ ।

अहिले सार्वजनिक रुपमा प्रधानमन्त्रीको रुपमा पार्टीले अघि सारेका व्यक्तित्वहरु बालेन, ओली र गगनहरुबीच सार्वजनिक रुपमा प्रत्यक्ष प्रसारणसहितको डिवेट होस भन्ने माग उठेको छ । ओलीले त आफू बहसको लागि तयार रहेको भनेर सार्वजनिक प्रतिक्रिया दिएका छन् । गगनले पनि यो प्रस्ताव आए स्विकार गर्ने भनेर उनका निकट नेताहरुले भन्न थालेका छन् । बालेनको पनि यसबारेमा कुनै धारणा बाहिर ल्याईएको छैन् ।