राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा मतदान सुरु


काठमाडौं, माघ ११ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी मतदान प्रक्रियाको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसालेर मतदानको शुभारम्भ गरेका हुन्।

लुम्बिनी प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीन जना राष्ट्रियसभा सदस्य निर्वाचित गरिनेछ । तीन सिटका लागि आठ जनाको मनोनयन दर्ता भएको छ ।

कांग्रेस–एमाले गठबन्धनबाट तीन जना, नेपाली कम्युनिष्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेदवारी दर्ता भएको हो । कांग्रेस र एमालेबीच तालमेल गरी उम्मेदवारी दर्ता गरिएको छ । गठबन्धन अनुसार एमालेको भागमा महिला कोटा परेको छ भने कांग्रेसलाई अपांगता तथा अन्य समूहको कोटा परेको छ ।

यसअनुसार एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्री महिला कोटाबाट उम्मेदवार रहेकी छन् । कांग्रेसबाट अपांगता कोटामा दाङको लमही नगरपालिका–२ का बासुदेव घिमिरे र अन्य समूहको कोटामा गुल्मीको रेसुङ्गा नगरपालिका–३ का चन्द्रबहादुर केसी उम्मेदवार रहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले पनि तीनै कोटामा उम्मेदवारी दर्ता गराएको छ । महिला कोटाबाट पाल्पाको बराङ्दी गाउँपालिका–१ की दुर्गाकुमारी भण्डारी, अपांगता कोटाबाट बाँकेको बैजनाथ गाउँपालिका–५ का सर्जन विक र अन्य समूहबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१४ का बृहस्पति अधिकारी चुनावी मैदानमा छन् ।

राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य समूहमा उम्मेदवारी परेको छ । महिला कोटामा प्युठान नगरपालिका–८ की पद्मा पण्डित र अन्य समूहमा प्युठानको मल्लरानी गाउँपालिका–२ का बोमबहादुर खत्री उम्मेदवार रहेका हुन् ।

हाल एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते सकिँदैछ । भट्टराई अन्य समूह, घिमिरे महिला र शर्मा अपांगता कोटाबाट निर्वाचित हुन् ।

लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २ सय १७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय जना मतदाता रहेका छन् । फोटो-नारायण प्रसाद भट्टराई/प्रवक्ता- निर्वाचन आयोग नेपाल