काठमाडौं, माघ ११ । राष्ट्रिय सभाको मतदान सबै स्थानमा सुरु भएको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान नौ बजेदेखि मतदान सुरु भएको हो। आयोगले दिउँसो ३ बजेसम्म मतदान जारी रहने जानकारी दिएको छ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको छ। कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जानकारी दिएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।




प्रतिक्रिया