अहिले देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको ओलीको दाबी, सुनाए भगवान रामलाई वनवास पठाईएको कहानी


काठमाडौं, ११ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताएका छन् । हिजो (शनिबार) जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरेका हुन् ।

देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश गर्ने सबैलाई पार्टीमा स्वागत रहेको उल्लेख गर्दै अग्रवाल देशभक्त पार्टीमा प्रवेश गरेको उनको भनाई थियो । ओलीले भने–‘शान्ति, लोकतन्त्र, सुशासन र विकासको पक्षमा उभिएको पार्टीको पक्षमा उहाँ लाग्नुभएको छ ।’ नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको भनाइ राख्दै उनले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको बताउनुभयो ।

नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे । उनले भने– आज हिँड्दै छु, कहाँ जाँदै छु थाहा छैन, भोलि कहाँ पुग्ने हो, थाहा छैन, एमाले भने सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य लिएर अघि बढिरहेको पार्टी हो । अध्यक्ष ओलीले एमाले समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि निरन्तर काम गरिरहेको बताए । राम्रो काम गर्दा विरोध र षड्यन्त्र स्वाभाविक रूपमा आउने उल्लेख गर्दै उनले धार्मिक–ऐतिहासिक सन्दर्भ प्रस्तुत गरे ।

उनले भने,‘त्रेतायुगमा भगवान् राम र द्वापरयुगमा पाण्डवहरू पनि वनवास पठाइएका थिए, राम्रो काम गर्ने र असल मनसाय राख्नेहरूले दुःख भोग्नुपर्छ ।’ उनले एमाले प्रशंसाको पछि नभई सत्यको पछि हिँड्ने पार्टी भएको स्पष्ट पार्दै देशको रक्षा र विकास नै पार्टीको मुख्य लक्ष्य रहेको बताए । अध्यक्ष ओलीले अर्थतन्त्रको अवस्था र सरकारप्रतिको विश्वास शेयर बजारले प्रतिबिम्बित गर्ने उल्लेख गर्दै पुँजी बजारलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण सूचकका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।