रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ सकियो


काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासमा सो रिटमा सुनुवाइ सकिएको हो ।

सामाजिक अभियन्ता युवराज पौडेल ‘सफल’ ले महान्यायाधिवक्ता कार्यालयको सो निर्णय तत्काल कार्यान्वयन नगराउनु भनी अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

रास्वपा सभापति लामिछानेले विभिन्न ५ वटा जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् । लामिछानेले सबै जिल्ला अदालतहरुमा धरौटी राखेर अहिले आफू थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता भएको खण्डमा लामिछानेको चुनाव जितेर संसद् छिर्ने बाटो खुला हुनेछ ।