काठमाडौँ, ११ माघ । प्रधानमन्त्री सुशीला कार्की नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा कुलपतिका हैसियतमा सरिक भएकी छन् ।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न समारोहमा तीनवटा संकायका ५४५ विद्यार्थी दीक्षित भएका थिए। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पदक पनि प्रदान गरिएको थियो।
२०७३ सालमा स्थापित यस खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा थिए।
नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको मन्तव्यको अंश यसप्रकार छ-
सर्वप्रथम नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह, २०८२ मा कुलपतिका हैसियतमा उपस्थित हुन पाउँदा म खुसी व्यक्त गर्दछु ।
यस समारोहमा विभिन्न सङ्कायअन्तर्गत विभिन्न विषयहरूमा दीक्षित हुनुभएका विद्यार्थीहरूमा बधाई ज्ञापन गर्दछु ।
र, यस विश्वविद्यालयलाई पहिलो दीक्षान्तसम्म ल्याइपुर्याउने विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरू र प्रत्यक्ष-परोक्ष रूपमा सहयोग पुऱ्याउनुहुने महानुभावहरूलाई धन्यवाद प्रकट गर्दछु ।
२०७३ सालमा स्थापना भई २०७४ सालदेखि सामाजिकशास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायअन्तर्गत विभिन्न विषयमा स्नातक, पीजीडी, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधिसम्मको अध्यापन गराउँदै विश्वविद्यालय अगाडि बढिरहेको छ ।
नेपालभित्र मात्र नभई अन्य देशका विभिन्न स्थानमा रहेका विद्यार्थीहरूलाई खुला तथा दूर सिकाइमार्फत सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन यस विश्ववविद्यालयले प्रयास गरिरहेको छ ।
छोटो समयमा नै यस विश्वविद्यालयले प्राज्ञिक जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । साथै आगामी दिनमा विश्वविद्यालयले अझै प्रतिस्पर्धी, समयसापेक्ष, रोजगारमूलक, उद्यमशीलताउन्मुख, अनुसन्धान तथा नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा भूमिका खेल्नेछ भन्ने विश्वास छ ।
भौतिक रूपमा कक्षामा उपस्थित हुन नसक्ने दूर-दराजका र अन्य काम-व्यवसायमा व्यस्त विद्यार्थीहरूलाई आफ्ना रुचि र समयअनुकूलका कार्यक्रमहरूमा उच्च शिक्षा लिन अझ सशक्त भूमिका खेलोस् भन्ने अपेक्षा राख्दछु ।
आजका युवाहरूको बदलिँदो अपेक्षालाई ध्यानमा राखेर शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै प्रतिभा पलायनलाई रोक्ने तथा उनीहरूको ज्ञान र सीपलाई राष्ट्रनिर्माणमा प्रयोग गर्ने चुनौती हाम्रा सामु रहेको छ ।
त्यस्ता चुनौतीहरूको सामना गर्न उच्च शिक्षा प्रदायक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यस सन्दर्भमा नेपाल खुला विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने कामना गर्दछु ।
विश्वविद्यालय आन्तरिक रूपमा सबल रहँदै धेरैभन्दा धेरै विद्यार्थीहरूलाई शिक्षाको मूलधारमा समाहित गर्न सक्नुपर्ने चुनौतीलाई सामना गर्न सक्षम हुनुपर्दछ । ज्ञानको समयसापेक्ष निर्माण र वितरणका पक्षलाई सँगसँगै महत्त्वका साथ अगाडि लैजान सक्नुपर्छ ।
विश्वविद्यालयहरू विज्ञान तथा प्रविधिको द्रुततर रूपमा भएको विकासलाई समायोजन गर्दै अगाडि बढ्नुको विकल्प छैन ।
हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरू अझै गतिशील हुन जरूरी छ । यस खुला विश्वविद्यालयले यो समयको गति र प्रवाहलाई आत्मसात् गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई समावेश गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चाल गर्न सकोस् ।
अन्त्यमा, आजको कार्यक्रममा दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूमा पुनः बधाई भन्दै तपाईंहरूले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप आफ्नो व्यक्तित्व तथा राष्ट्रनिर्माणमा भरपूर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
जाँदाजाँदै यहाँहरुलाई मेरो विशेष अनुरोध छ-
- यो देश हाम्रो हो, हामीले नै बनाउने हो भावका साथ सबै अघि बढौँ ।
- हामीले नै यसलाई बस्नलायक बनाउने हो । हामीले नबनाए कोही आएर बनाइदिँदैन ।
- यहाँका तमाम बेथितिबाट भाग्ने होइन, हामी आफै डटेर सामना गर्नुपर्छ । आफू बसेको ठाउँ आफैँले सफा गर्नुपर्छ ।
तसर्थ, - यहाँहरु सकेसम्म नेपालमै केही गर्नुहोस् । नेपालमै अवसरहरुको पहिचान गर्नुहोस् ।
- यदि अवसर नभएका ठाउँमा नयाँ अवसरहरुको सिर्जना गर्नुहोस् ।
- र, जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्नुहोस् ।
शुभकामना ।
धन्यवाद!







प्रतिक्रिया