जनार्दनलाई ओलीको साथ, निर्वाचनमा प्रचण्डलाई घात


काठमाडौं, ११ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार रहेका जनार्दन शर्मालाई नेकपा (एमाले) ले सघाउने भएको छ ।

आज (आइतबार) एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष दुर्गा सोवले रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सघाउने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

रुकुम पश्चिममा प्रलोपाबाट शर्मा उम्मेदवार छन् । रुकुम पूर्वमा भने सन्दीप पुन उम्मेदवार रहेका छन् । एमालेले आँखामै मतदान गर्ने सहमति भएको सहमति पत्रमा उल्लेख छ ।

‘प्रगतिशील लोकतान्त्रिक पार्टी पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिह्नमा नेकपा (एमाले) द्वारा मतदान गर्ने सहमति भएको छ,’– पत्रमा भनिएको छ ।

रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेका छन् । रुकुम पश्चिममा भने नेकपाले गोपाल शर्मा ‘अनल’ लाई उम्मेदवार बनाएको छ । विशेषतः नेकपाको उम्मेदवार प्रचण्ड र अनललाई हराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले जनार्दन आवद्ध दल प्रलोपालाई उक्त क्षेत्रमा सहयोग गरेको चर्चा हुन थालेको छ ।