काठमाडौं, ११ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए ।
उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधिसभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे । जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेदवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।
संयोजक प्रचण्डले जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको बताए । जेन–जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेको उनले बताए ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरुका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको बताए । मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उनले बताए ।
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चितजस्तै भएको संयोजक प्रचण्डले बताए । उम्मेदवारी फिर्ता र डा.भट्टराईसँग भएका संवादले अब डा.भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे ।
पार्टीले दिएका उम्मेदवारविरुद्ध देखिएका अधिकांश असन्तुष्टिहरू संवादबाट हल गरिएको र नमिलेका एक दुई ठाउँमा अनशासनको कारबाहीमार्फत क्रमशः समाधान हुँदै गएको उल्लेख गर्दै उनले निर्वाचनको नतिजा पार्टीकै पक्षमा आउने मिहनेत गर्दा पहिलो दल बन्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया