काठमाडौं, ११ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच कर्णाली प्रदेशका विभिन्न जिल्लामा गठबन्धन गर्ने सहमति भएको छ । एमालेले प्रलोपाका संरक्षकको भूमिकामा रहेका जनार्दन शर्मालाई रुकुम पश्चिममा सघाउने र रुकुम पूर्वमा पनि प्रलोपाका संदीप पुनलाई सघाउने सहमति भएको छ।
आजमात्रै उक्त सहमतिपत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाको तर्फबाट अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन् । यस्तै, कर्णालीमा हुम्ला र जुम्लाबाहेकका जिल्लाहरु र पूरानो राप्ती अञ्चलका जिल्लाहरुमा एमालेका उम्मेदवारहरुको पक्षमा प्रलोपाले मतदान गर्ने सहमति बनेको छ ।
यो सहमति बनेसँगै प्रलोपाको प्रमुख संरक्षकको भूमिकामा रहेका डा. बाबुराम भट्टराईले पनि गोरखा–२ मा एमालेका उम्मेदवार मिलन चक्रेलाई सघाउनुपर्ने बाध्यता आईपरेको छ । गोरखा–२ मा प्रलोपाको तर्फबाट बाबुरामले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा आएर आफू नलड्ने घोषणा गरेका छन् ।
यद्धपी अहिलेसम्म उनले कसलाई सघाउने भनेर कुनै निर्णय भने लिएका छैनन् । एमाले र प्रलोपाबीच कर्णालीको हकमा चुनावी गठबन्धन गर्ने सहमति भएपछि भने गोरखामा स्वाभाविक रुपमा बाबुरामले पनि एमालेका उम्मेदवारलाई सघाउनुपर्ने बाध्यता छ । सबभन्दा धेरै चुनावी गठबन्धन नै एमालेसँग भएपछि बाबुरामले मिलन चक्रेलाई सघाउनुपर्ने नैतिक बाध्यता आईपरेको छ । यसअघि भने बाबुरामले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपाने र रास्वपाका उम्मेदवार कविन्द्र बुर्लाकोटीमध्ये एकलाई सघाउने चर्चा थियो ।





प्रतिक्रिया