भैँसीपालनबाट किसानको फेरिँदै जीवनस्तर


कञ्चनपुर, १२ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् । दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारु समुदायको जीविकोपार्जन सहज हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टीका चन्द्रलाल चौधरीले विगत छ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आएका छन् । उनले दैनिक नौ लिटर दूध उत्पादन गर्छन्। जसमध्ये दुई लिटर घरमा राखेर सात लिटर डेरीमा बिक्री गर्छन् । प्रतिलिटर ७० का दरले दूध बेचेर उनले दैनिक चार सय ९० र मासिक १४ हजार सात सय आम्दानी गर्दै आएका छन् ।

“दूध बिक्रीबाट आएको पैसाले नून, तेल, औषधिमुलो र लुगाफाटोको खर्च टरेको छ,” चौधरीले भने, “बैंकबाट ऋण लिएर किनेको ट्याक्टरको किस्ता तिर्न धौधौ परेका बेला यही भैँसीको दूधले ठूलो सहारा दिएको छ ।” भैँसीलाई चारो खुवाउनेदेखि गोबर सोहोर्नेसम्मका सबै काम उनी आफैँ सम्हाल्छन् ।

यसैगरी नगरपालिका– ११ का वडा सदस्य जयसिंह रानाले पनि व्यावसायिक रूपमा भैँसी पालेका छन् । दैनिक छ लिटर दूध डेरीमा पु¥याउने राना भन्छन्, “भैँसी पाल्न थालेपछि घरमा खर्चको अभाव कहिल्यै भएको छैन, अहिले त उल्टै अरुलाई सापटी दिन सक्ने भएका छौँ ।” सोही वडाका तौला रानाले पनि दूध बिक्रीबाटै नातिनातिनीको बोर्डिङ स्कुलको शुल्क तिरिरहेको बताए ।

पहिले दूध बेच्न हिचकिचाउने थारु समुदायमा अहिले व्यावसायिकताको लहर चलेको छ । आँचल डेरीका सञ्चालक ललित हमालका अनुसार अहिले दैनिक दूध ल्याउने थारु समुदायका व्यक्तिको सङख्या बढ्दो छ । “पहिले एक–दुई जना मात्रै दूध बिक्रीका लगि आउनुहुन्थ्यो, अहिले ३० जनाभन्दा बढीले नियमित दूध बिक्री गरिरहनुभएको छ,” हमालले भने ।

व्यावसायिक भैँसीपालनले थारु समुदायका विपन्न अवस्थाका परिवारलाई आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउन र अन्य व्यापार व्यवसायमा लगानी गर्नसमेत सक्षम बनाएको छ । थारु समुदायमा फैलिएको यो उत्साहले स्थानीयस्तरमा स्वरोजगारको राम्रो उदाहरण प्रस्तुत गरेको हमाल बताउँछन् ।

“दुध बिक्री गर्न आउने थारु समुदायका व्यक्तिहरुलाई हामीले पनि प्रोत्साहित गर्दै आएका छौँ” उनले भने, “दूधको गुणस्तर अनुसारको मूल्य हातोहात दिने गरेका छौँ ।” रासस