सहकारी ठगलाई भोट हैन जेल पठाउनुपर्छः आजपा उपाध्यक्ष थापामगर


काठमाडौं, १२ माघ । आम जनता पार्टी (आजपा) का सहअध्यक्ष तिलक थापामगरले सहकारी ठगलाई भोट नभएर जेल पठाउनुपर्ने टिप्पणी गरेका छन् । जेनजी हत्यारा, लुटेरा, भ्रष्टाचारी र सहकारी तथा लघुवित्त ठगहरु पनि उम्मेदवार भएर मतदातासँग मत माग्न आइरहेको बताउदै उनले त्यस्तालाई बहिष्कार गर्नुपर्ने बताए ।

आजपा गण्डकी प्रदेश निर्वाचन परिचालन कमिटीको पोखरामा आज (सोमबार) बसेको बैठकलाई सम्बोधन गर्दै थापामगरले जेनजी हत्यारा, हाइज्याकर, भ्रष्टाचारी, ठग, लुटेराहरु अहिले विभिन्न भेषमा जनताबीचमा आएर विभिन्न लोभलालच देखाउदै मत मागिरहेकाले त्यस्तालाई बहिष्कार गर्दै आजपाका असली उम्मेदवारहरुलाई विजयी गराउन मोवाइल छापमा मतदान गर्न आग्रह गरे ।

‘अहिले जेनजी हत्यारा, भ्रष्टाचारी, लुटेरादेखी सहकारी ठगहरु विभिन्न भेषमा जनताका बीचमा पुगिरहेका छन् । उनीहरुले विभिन्न लोभलालच पनि दिइरहेका छन् । त्यस्ताबाट सचेत हुन आवश्यक रहेको छ । मुलुक र जनताको हितमा निरन्तर संघर्ष गरिरहेको आम जनता पार्टीका उम्मेदवारलाई विजयी गराउन मोबाइल छापमा मतदान गर्नुपर्छ,’ सहअध्यक्ष थापाले भने ।

उनले जेनजी हत्यारा केपी ओली, रमेश लेखकसहित जेनजी आन्दोलनका हाइज्याकर बालेन शाह तथा सहकारी ठगहरु रवि लामिछानेहरुलाई निर्वाचनबाटै बहिष्कार गर्नुपर्ने बताए । उनले जेन–जी हत्यारा तथा हाइज्याकरका साथै ठगहरु अहिले पनि मुलुक लुटने गम्भीर खेलमा लागेको टिप्पणी गरे ।

२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका विभिन्न जिल्ला एवं क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारलाई चुनावी रणनीति, परिचालनलगायतका विषयमा बैठकमा छलफल भएको आजपा केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य निरञ्जन पौडेलले बताए ।

आजपा गण्डकी प्रदेशका अध्यक्ष एवं गण्डकी निर्वाचन परिचालन समितिका अध्यक्ष भोजराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न बैठकमा निर्वाचन परिचालन समितिका सदस्य निरञ्जन पौडेल, गण्डकी प्रदेशका अध्यक्ष सन्तोष साह, सचिवालय सदस्य तेजबहादुर कुमाल, विजेन्द्र चौधरी, विमल कडेल, पवित्रा मल्ललगायतको सहभागिता थियो ।