सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता


तनहुँ, १३ माघ । यहाँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् ।

आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनाको जानकारी पाएलगत्तै आइतबार नै स्थानीय बासिन्दा र प्रहरीले खोजी सुरु गरेका थियो ।

इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले घटनास्थल र आसपासका क्षेत्रमा खोजी जारी राखे फेला पार्न नसकिएको उनले बताए । “सप्लाङ्गी खोलामा जाल हान्ने क्रममा अचानक सन्तुलन गुमाएर दहको भुमरीमा परेर बेपत्ता भएका जानकारी पाएका छौँ,” प्रनाउ विकले भने, “पोखराबाट आएको सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छौँ ।” रासस