काठमाडौं, १३ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हार्ने दाबी गरेका छन् । उनले ओलीले जितेर आउने कुनै सम्भावना आफूले नदेखेको दाबी गरेका हुन् ।
आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले एमाले कुनैपनि हालतमा बुहमत नल्याउनेसमेत दाबी गरे । बमले नेता नेपाललाई केपी ओलीको जितको सम्भावनाबारे सोधेको प्रश्नमा यस्तो जवाफ दिए,‘जनताले फैसला गर्नेछन् । म केपी ओलीले जितेर आउने सम्भावना देख्दिनँ । यति कुरा के हो भने केपी ओलीको पार्टीले बहमुत ल्याउने कुनै कल्पना नगरे हुन्छ ।’
पूर्व प्रधानमन्त्री नेपालले ओलीकै कारण नेपालको राजनीति गलत दिशामा गएको आरोप लगाए । उनले भने,‘केपी ओलीकै कारण नेपालको राजनीति राम्रो र गतिका साथ जान नसकेको हो । जनताले झण्डै दुई तिहाई बहुमत दिएका थिए । तर, उनले शक्तिको दुरुपयोग गरे । केपी ओलीमाअधिनायकवादी प्रवृत्ति देखिएको छ ।’
उनले आफूलाई केपी ओली नेतृत्वको सरकारले प्रतिशोध साँधेर मुद्दा हालेको बताए । ‘ओलीले चाहेको भए मलाई छातीमा गोली हानेर मारिदिन्थे । केपी ओलीको धेरै चर्चा गर्यो भने पनि आँफैलाई दिमाग खराब भएर आउँछ ।’–उनले भने ।
उनले आफू रौतहटको मान र शान बढाउनको लागि फेरिपनि चुनावी मैदानमा उभिएको स्पष्ट पारे । उनले भने,‘माधवकुमार नेपाल रौतहटको सन्तान हो, मेरो भूमिका रौतहटको विकासको लागि समर्पित भएको छ । रौतहटका जनताले मलाई धेरै माया गर्छन् । रौतहटको शान, मान बढेको छ । म रौतहटवासी हुँदा गौरव लागेको छ । यहाँको विकासमा लाग्नुपर्छ भनेर म आएको हुँ ।’




प्रतिक्रिया