काठमाडौं, १३ माघ । नेकपा (एमाले) का महासचिव तथा आसन्न निर्वाचनमा दाङ–२ का उम्मेदवार शंकर पोखरेलले रवि लामिछानेले बालेन शाहलाई हार्ने ठाउँमा चुनाव लड्न झापा–५ पठाएको दाबी गरेका छन् । उनले बालेन शाहले पब्लिक डिबेटको लागि गरिएको प्रस्ताव अस्विकार गर्नु नौलो कुरा नभएको बताए ।
हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले उनले भने,‘बालेन शाह कहिल्यैपनि सम्वाद गर्ने मान्छे होईन, तीन वर्षसम्म काठमाडौं महानगरमा रहँदाखेरि आफ्ना मतदातासँग सम्वाद गरेको देख्नुभयो र ? जब जनतासँग सम्वाद गरेको छैन, मतदातासँग सम्वाद गरेको छैन, यो फेशबुक, ट्विटरको माध्यमबाट स्टन्टबाजी गरेर प्राप्त गरेको लोकप्रियताको आधारमा सफल हुन्छु भनेर हिँडेको मान्छे सम्वादमा रुचि राख्छन् र ? बालेनको चरित्र नै सम्वाद गर्ने चरित्र होईन ।’
विगतमा आफूलाई जिताउन नसकेकोमा धेरै अवसर गुमाएको भनेर जनताले गुनासो गरेको बताएका छन् । यसपटक त्यो अवस्था रहनेछैन भनेर जनताले प्रतिबद्धता गरेको पनि उनले जनताको आवाज साझा गरे । उनले अहिले नेपालको राजनीतिमा पूरानो र नयाँ भनेर विभाजन ल्याउने कोशिस भएको टिप्पणी गरे ।
यस्तो विभाजनको कोशिस यो पहिलोपटक नभएर यसअघि पनि जातजातको नाममा विभाजन ल्याउन कोशिस गरिएको उनको भनाई छ । त्यो कोशिसलाई पनि एमालेले नाकाम बनाएको उनको दाबी छ । पछि एक मधेश एक प्रदेश बनाउने कुरालाई पनि एमालेले परास्त गरेको भन्दै अहिले पुस्ताको नाममा विभाजन गर्न खोजिएको भन्दै सचेत हुन आग्रह गरे । उनले अहिले चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्न खोजेको बताए । झापा–५ र झापा–३ मा चुनावी तालमेलबारे अहिले केही नसोचेको पनि उनले स्पष्ट पारे । उनले भने,‘अहिले हामी झापा–५ को सन्दर्भमा कसैसँग तालमेल गरिहाल्नुपर्ने अवस्थामा छैनौं ।’




प्रतिक्रिया