रवि–बालेनलक्षित प्रचण्डको टिप्पणी : घण्टी बजाएरमात्र हुनेवाला केही छैन


काठमाडौं, १३ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने काम भएको टिप्पणी गरेका छन् । उनले रवि लामिछाने र बालेन शाहलाई लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन् । अब एकताबद्ध भएरमात्र स्टन्टबाजहरुलाई रोक्न सकिने पनि उनको भनाई छ ।

आज (मंगलबार) पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले पुराना सहकर्मीहरुलाई एकतामा आउन आह्वानसमेत गरे । उनले भने,‘अब पनि एक्ला एक्लै हिँडेर केही हुनेवाला छैन । राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन।’ उनले रास्वपालाई लक्षित गर्दै अहिले घण्टी बजाएर केही हुनेवाला नभएको पनि टिप्पणी गरे ।