काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व प्रमुख सचेतक श्याम घिमिरेले आफूले चुनावमा टिकटको आकांक्षा राखेको भएपनि टिकट नपाएको बताएका छन् । आन्तरिक लडाईं लड्दै गर्ने भएपनि चुनावी प्रतिष्पर्धामा भने कांग्रेसलाई नै सघाउने भनेर आफूहरुले निर्णय गरेको पनि घिमिरेले सुनाए ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले २१ फागुनअघि आफूहरुले पार्टीको कुनैपनि राष्ट्रिय भेला नबोलाउने स्पष्ट पारे । पार्टीभित्र मतभेद विपी कोइरालाको पालामा पनि भएको इतिहास भएकोले अहिलेको मतभेदपनि नौलो नभएको उनको तर्क छ । तर, विगतका निर्वाचनमा सबै पक्षहरु बसेर पार्टीको टिकट वितरण गर्ने चलन भएको भएपनि यसपालि त्यस्तो नभएको घिमिरेको दाबी छ ।
उनले भने,‘अब निवर्तमान नै सही, शेरबहादुर देउवासँग पनि टिकट बाँड्दा एक वचन पनि सोधिएन । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि एक वचन सोधिएन । उहाँ त पार्टीको नेतृत्व गरेर बस्नुभएको मान्छे । गगन थापा र शेखर कोइरालाहरु पनि हिजो त शेरबहादुर देउवासँग सँगै बसेर टिकट बाँड्थे ।’




प्रतिक्रिया