माघ १५–१७ गतेसम्म फस्ट हिसान प्रेसिडेन्ट कप बास्केटवल एण्ड ब्याडमिन्टन टुर्नामेन्ट–२०८२ हुने, तयारी पूरा भएको हिसान काठमाडौंको घोषणा


काठमाडौं, १४ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले यही माघ १५ गतेदेखि र १७ गतेसम्म पहिलो हिसान प्रेसिडेन्ट कप बास्केटबल र ब्याडमिन्टन टुर्नामेन्ट–२०८२ को आयोजना गर्ने जानकारी दिएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिसान काठमाडौंले उक्त टुनामेन्टको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

काठमाडौं हिसान कार्यसमितिकी अध्यक्ष जेसिका चेम्जोङले हिसानले सम्बन्धित संस्थाहरुमा पाठ्यक्रम अध्यापन सँगसँगै खेलकुदलाई पनि प्राथमिकता दिईरहेको जानकारी गराईन् । हिसानले एकतर्फ शिक्षाको नीति, स्वरुप र दिशा निर्धारणमा सरकारलाई विभिन्न हिसाबले सहयोग गरिरहेको र अर्कोतर्फ विभिन्न समयमा समसामयिक विषयवस्तुहरुमा छलफल तथा बहस चलाउने एवं जनसरोकारका विषयहरुमा कार्यक्रमहरु आयोजना गर्दै आईरहेको चेमजोङ्को भनाई छ ।

चेमजोङद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘हाम्रा संस्थाहरुसँग आवद्ध विद्यार्थीहरुले यो वा त्यो हिसाबले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागी बनिरहेको विषयमा सञ्चार जगत जानकार नै छ । राष्ट्रिय रुपमा नै खेलकुदको विकासमा टेवा पुग्ने गरी हिसानले विभिन्न समयमा विभिन्न प्रतियोगिताहरुको आयोजना गरिरहेको छ । यस्ता प्रतियोगिताहरुले खेलाडीहरुलाई मौका दिने र मनोवल बढाउने काम गर्दछ ।’ उनले खेलकुदको विकासको लागि राज्य नै संवेदनशील बन्नुपर्ने तर्क गरिन् । खेलकुदको विकासको लागि हिसान सहकार्य गर्न सधैं गम्भीर रहेको उनको भनाई छ ।

उक्त प्रतियोगिताको कार्यक्रम संयोजक भने हिसान काठमाडौंका सहसचिव तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख कृष्ण गौतम रहेका छन् । कार्यक्रमको टाईसिट पनि आजै होटल स्मार्ट, धुम्बराहीमा सम्पन्न हुने जनाईएको छ । उनकाअनुसार बास्केटबलका सबै खेलहरु बसन्धुरामा रहेको ऋतु कलेजमा सम्पन्न हुनेछन् । उद्घाटन कार्यक्रम भने माघ १६ गते विहान ७ बजे सम्पन्न हुनेछ । बास्केटवलमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुनेछन्। छात्र र छात्रा गरि जम्मा २४ टिम सहभागी हुनेगरि व्यवस्थापन मिलाईएको पनि उनले जानकारी दिईन् । जसमध्ये काठमाडौं महानगरबाट जम्मा १२ टिम सहभागी हुनेछन् ।

बास्केटवल प्रतियोगितामा छात्र छात्रा दुवै तर्फबाट प्रथम र द्धितिय हुने टिमहरुले क्रमशः नगद २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँको साथमा मेडल र ट्रफी पाउनेछन् । ब्याडमिन्टन प्रतियोगिता भने माघ १७ गते नेपाल पुलिस क्लबमा सम्पन्न हुने जनाईएको छ । यसमा करिब ५० जनाले प्रतिष्पर्धा गर्नेछन् । ब्याडमिन्टन प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई ट्रफी, मेडल र आकर्षक गिफ्टह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपिराज पराजुलीले प्रतियोगिताको तयारी र महत्वको बारेमा प्रकाश पारेका थिए । प्रेस मिट कार्यक्रममा भने संस्थाका उपाध्यक्ष ऋषि न्यौपाने, तार्केश्वर नगर समितिका अध्यक्ष लिलबहादुर पुन, सदस्यहरु छवि पाण्डे र दिपक अधिकारीलगायतको सहभागिता रहेको थियो ।