ओलीको नेतृत्वमा एकल बहुमतको सरकार एमालेको चुनावी लक्ष्य होः उपमहासचिव भट्ट (भिडिओसहित)


काठमाडौं, १५ माघ । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व मन्त्री लेखराज भट्टले तत्कालीन माओवादी सिसा फुटेजस्तो टुक्रा टुक्रा भएर विभाजित भएको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले अब पुष्पकमल दाहाल प्रचण्ड ले चाहँदैमा सबै वामपन्थी दलहरुको एकता नहुने बताएका हुन् । उनले ब्याक गियरमा जाँदा दुर्घटना हुन सक्ने बताए । ‘सिसा फुटेजस्तो माओवादी फुटेर अलग अलग भइसक्यो । यसको सबै श्रेय प्रचण्डलाई नै जान्छ,’ उनले भने ।

नेता भट्टले प्रचण्ड आन्दोलन र परिवर्तनको नेतृत्व गर्ने गतिशील नेता रहेको बताए । जतिखेर पनि प्रचण्डले निर्णय गर्न सक्ने क्षमता राख्ने उनले बताए । पछिल्लो चरणमा चाहिँ प्रचण्डले माओवादी एकतालाई सग्लो राख्न नसकेको बताए । उनले आफूलाई जनयुद्धप्रति कुनै पश्चताप नरहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भनेको प्रसंगमा सोधिएको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘अध्यक्षले के भन्नुभएको छ ? म त्यो आन्दोलनबाट आएकाले म चाहिँ जनयुद्ध नै भनेर लागेको हो । अहिले पनि जनयुद्ध नै भन्छु । मलाई केही पश्चताप छैन । मैले जे गरेँ, परिवर्तनका लागि गरेँ । म त ऐस आराम छोडेर कठिन बाटो अपनाएको मान्छे हो । हामीले धेरै चिज गुमाएका छौं । कतिले त्यो बुझेका छैनन् । अहिले जे परिवर्तन आयो, त्यो त जनयुद्धकै जगमा हो,’ नेता भट्टले भने ।

उनले आफूहरु एकल बहुमतको सरकारको लक्ष्य लिएर आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको बताए । उनले भने, ‘पार्टीले लक्ष्य लिएको बहुमत भनेको छ । अब हामी जनताको बीचमा जान्छौं । हाम्रो लक्ष्य भनेको अध्यक्षकै नेतृत्वमा सरकार निमार्ण गर्ने, एमालेको सरकार, बहुमतको सरकार । भोलि जनताले के फैसला गर्छन् । तर, अहिले हामी एकल बहुमतको सरकारको लक्ष्य लिएर अगाडि बढेका छौं,’ उनले भने ।