काठमाडौं, १५ माघ । लेखक, स्वतन्त्र अभियान्ता तथा पशुपालन व्यवसायी विजय कुमार शर्माले ‘स्थिर सरकार–युगको आवश्यकता’ को सन्देश बोकेर पूर्व पश्चिम (मेचीकाली) पैदल यात्रा गर्ने घोषणा गरेका छन् । शर्माले आफूले कुनै पद प्राप्तिको लोभ नभएर देशप्रतिको जिम्मेवारी र भविष्यप्रतिको चिन्ताले यो यात्रा गर्न लागेको जानकारी गराएका हुन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो पैदल यात्राको बारेमा जानकारी गराएका हुन् । उनकाअनुसार आज देश गम्भीर संकटमा छ । उनले भनेका छन्–‘आज देश गम्भीर संकटमा छ साथै अनेकौं प्रश्नहरुको सामना गरिरहेको छ । किन बारम्बार सरकार फेरिन्छ ? किन चुनावप्रति जनविश्वास कमजोर हुँदै गएको छ ? किन नागरिकको मतले स्थिरता ल्याउन सकेन ? लगायतका तमाम प्रश्नहरुको उत्तर खोज्दै निश्पक्ष निर्वाचन र स्थीर सरकार युगको आवश्यकतालाई सडकदेखि सदनसम्म पुर्याउने संकल्पसहित मैले यो शान्तिपूर्ण पैदल यात्रा सुरु गरेको हुँ ।’
उनले आफ्नो यो पैदल यात्रा कुनै राजनीतिक दलको समर्थन वा विरोधमा नभएको पनि स्पष्ट पारेका छन् । उनले भने,‘यो यात्राको लक्ष्य लोकतन्त्रको सुदृढीकरण, नागरिक जनमतको सम्मान हो । देशमा स्थीर सरकार नहुँदा अन्तत दुःख र अप्ठ्यारोको सामना गर्ने हामी जनताले नै हो । त्यसकारण आफ्नो मतको प्रयोग गर्दा विवेकको भरपुर सदुपयोग गरौं ।’
उनले यो पैदल यात्राको क्रममा आफूले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका राजनीतिक उम्मेदवार र जनतासँग सम्वाद पनि गर्ने र उनीहरुको आवाज सुन्ने पनि विश्वास दिलाएका छन् ।




प्रतिक्रिया