एमाले उपमहासचिव भट्टको दाबी : एमालेले एकल बहुमतको सरकार बनाउँछ (भिडिओ–सहित)


काठमाडौं, १५ माघ । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वमन्त्री लेखराज भट्टले आगामी निर्वाचनमा सुदूरपश्चिममा एमाले सबभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । उनले भने,‘सुदूरपश्चिममा एमाले सबैभन्दा अगाडि आउँछ ।’ जनताले यो निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्ने र सोहीअनुसार मत हाल्ने उनको दाबी छ । उनले सूर्यमा लगातार ग्रहण नलाग्ने भन्दै सूर्यसामु सबै नतमस्तक हुनुपर्ने बताए ।

आफूहरु छिट्टै चुनावी अभियान लिएर देशभरि जाने पनि घोषणा गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले एमालेले यो निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्य राखेको र भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई नै अघि सारेको स्पष्ट पारे ।

उनले नेपाली राजनीतिमा प्रचण्ड एक गतिशील नेता भएको टिप्पणी गरे । प्रचण्डलाई आजको दिनमा कसरी मूल्यांकन गर्नुहुन्छ भनेर पत्रकार थपलियाले राखेको जिज्ञासामा उनले भने,‘अब प्रचण्डले आन्दोलन र परिवर्तनमा ठूलो र नेतृत्वदायी भूमिका खेले । गतिशील नेता हुन् । जतिखेर पनि निर्णय गर्नसक्ने र तुरुन्तै कन्भिन्स हुने नेता हो ।’ तर, पछिल्लो समय प्रचण्डले हिजोको क्रान्तिकारी र नेतृत्वदायी भूमिका कायम गर्न नसकेको उनको गुनासो छ । उनले प्रचण्डले माओवादीको सिसालाई सग्लो राख्न पनि नसकेको आरोप लगाए ।