प्रहरीको रासन स्केल वृद्धि गर्ने सरकारको निर्णय


काठमाडौँ, १५ माघ । सरकारले आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनवापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन स्केल वृद्धि गर्नेसहित अन्य निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

त्यस्तै, सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ । सरकारले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको हो ।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही माघ १८ देखि २१ गतेसम्म जापानमा हुने कार्यक्रममा सहभागी हुनेछ । मन्त्रिपरिषद्ले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।