झापा–५ मा अध्यक्ष ओलीले विजय प्राप्त गर्ने कुरामा कुनै द्धिविधा छैन : ईश्वर पोखरेल (भिडिओ-सहित)


काठमाडौं, १६ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा निर्वाचन प्रतिष्पर्धामा विजय प्राप्त गर्ने कुरामा कुनै द्धिविधा नभएको बताएका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले अध्यक्ष ओलीले नेपालको राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाको कारण पनि विजयप्राप्त गर्ने दाबी गरेका हुन् ।

बालेन शाहले ओलीसँग प्रतिष्पर्धा गरेपनि पराजित गर्न नसक्ने पोखरेलको ठोकुवा छ । उनले भने,‘हाम्रो अध्यक्षले जुनखालको भूमिका खेल्दै आउनुभएको छ, जुन भूमिका पूरा गर्दै आउनुभएको छ, जुन त्यहाँका जनतासँग गाढा सम्बन्ध रहँदै आएको छ, त्यसआधारमा के भन्न सकिन्छ भने केपी ओलीलाई पराजित गर्ने योजनासहित जो व्यक्ति जानुभएको छ, उहाँहरुले सफलता प्राप्त गर्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’

उनले सरकार र निर्वाचन आयोगले भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिए । बुहदलीय प्रणालीमा दलहरुको उदय हुने कुरा र जनताको बीचमा आउने कुरालाई अस्वाभाविक मान्न नहुने पोखरेलको भनाई छ । पूराना दल र नयाँ दल भनेर अहिले खडा गरिएको भाष्यको विषयमा भने विश्लेषण गरिनुपर्ने उनको भनाई छ ।