दमौली (तनहुँ), १६ माघ । व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना गरेको अल्ट्रा म्याराथनमा नेपाली सेनाले बर्चस्व कायम गरेको छ । व्यास नगरपालिका–५ मानुङकोटदेखि वडा–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको म्याराथनमा प्रथम, द्वितीय र तृतीय नेपाली सेनाका धावक भएका छन् ।
प्रतियोगितामा बझाङका करन रावल प्रथम भए । रावलले उक्त दूरी दुई घण्टा ४८ मिनेट २७ सेकेन्डमा पूरा गरे । त्यस्तै रामेछापका तिलकबहादुर सुनुवारले दुई घण्टा ५८ मिनेटमा निर्धारित दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गरेका छन् । रामेछापकै होमलाल श्रेष्ठले तीन घण्टा चार मिनेटमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ८५ हजार ८२, द्वितीय हुनेलाई रु ६५ हजार ८२, तृतीय हुनेलाई ५५ हजार ८२ पुरस्कार प्रदान गरिएको छ ।
म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको थियो ।
म्याराथनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले म्याराथनले दुई गाउँलाई चिनाउन सहयोग पुगेको बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले मानुङकोटलाई उच्च प्राथमिकतामा राखेको बताउँदै खेलकुदका माध्यमबाट दुई गाउँ जोड्ने प्रयास गरिएको बताए ।
मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेत प्रत्यक्ष जोडेको छ । रासस




प्रतिक्रिया