यो कांग्रेसको कार्यकालमा कोही मान्छे मधेशको भएको कारण काठमाडौंबाट लखेटिन्नँ भन्ने कुरा बताउनुपर्छ : गगन थापा


काठमाडौं,१७ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिलेको कांग्रेसको कार्यकालमा अब नेता मुछिएको एउटा पनि काण्ड नेपालीले सुन्न नपर्ने दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा निर्वाचन परिचालनसम्बन्धी पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बदलिएर आएको भन्ने सन्देश लिएर घरघरमा जानको लागि नेता तथा कार्यकर्ताहरुलाई अपिल गरे ।

जेनजी आन्दोलनको आवाज पनि कांग्रेसले सुनेको थापाको जिकिर छ। उनले भने,‘त्यो जेनजी पुस्ताको साथीहरुलाई गएर बताउनुपर्छ, यो कांग्रेसले तिम्रो मूल्य सुन्यो । तिम्रो पुकार र आह्वानलाई सुनेर बदलिएर आएको छ भनेर घरघरमा गएर बताउनुपर्नेछ, यो कांग्रेसले देशलाई जोड्छ भनेर घरघरमा गएर भन्नुपर्नेछ । यो कांग्रेससँग सुधारको एजेण्डा छ भन्ने कुरा भन्नुपर्छ । यो कांग्रेसको कार्यकालमा एउटा पनि काण्ड अब नेपालले सुन्नुपर्ने छैन, नेता मुछिएको काण्ड एउटा पनि सुन्नुपर्दैन् । कांग्रेसबाट प्रधानमन्त्री भएको मान्छेले यो गर्यो, त्यो गर्यो, यो काण्ड वा त्यो काण्ड एउटा पनि सुन्नुपर्दैन् ।’

यो कांग्रेसले देशमा लामो समयदेखि चाहना राखेको परिवर्तनको हुटहुटी पूरा गर्छ भनेर कांग्रेसका नेता तथा कार्यकर्ताहरुले जनतालाई गएर बताउनुपर्ने थापाको आह्वान छ । उनले यो कांग्रेसको कार्यकालमा मधेशको मान्छे मधेशी भएको कारण काठमाडौंबाट लखेटिँदैन भन्ने कुरा पनि बताउनुपर्ने बताए । file photo