त्रिशूली (नुवाकोट), १९ माघ । केन्द्रीय कारागार नुवाकोटमा बाल सुधार केन्द्र स्थापना गरिएको छ । केन्द्रीय कारागार नुवाकोटको रिक्त ब्लक नं ३ को भवनमा आवश्यक बन्दोबस्तीसहित स्थापना गरिएको केन्द्रमा देशका विभिन्न बाल सुधार केन्द्रमा क्षमताभन्दा बढी रहेका बाल बिज्याइँकर्तालाई ल्याउने लक्ष्यसहित तत्कालको लाग १५० जना क्षमताको केन्द्र स्थापना गरिएको हो ।
केन्द्र स्थापनासहित आइतबार बाल सुधार केन्द्र भक्तपुरमा रहेका ७५ जना बाल बिज्याइँकर्तालाई आइतबार स्थान्तरण गरेर ल्याइएको कारागार प्रमुख भेषबहादुर कुँवरले जानकारी दिए । उनको अनुसार गत पुस ३ गते मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनअन्तर्गत बाल सुधार केन्द्र भक्तपुरमा रहेकामध्ये पहिलो चरणमा पचहत्तर जनालाई केन्द्रीय कारागार नुवाकोटको रिक्त ब्लकमा ल्याएर राखिएको छ ।
उक्त ब्लकमा करिब १५० जना बाल बिज्याइँकर्ता राख्न पुग्ने आवश्यक संरचना तयार गरिएको हुँदा बाँकीलाई क्रमशः ल्याउने तयारीमा रहेको उनको भनाइ छ । अहिले ल्याइएको बाल बिज्याइँकर्ता सबै जना १८ वर्ष उमेर पूरा भइसकेका, संलग्न घटनामा दोषी पुष्टि भएर बाल सुधार केन्द्र पठाउन सिफारिस भएका पुरुष रहेका छन् । बाल बिज्याइँकर्ता राख्न एउटा केन्द्रीय कारागार नुवाकोटमा अहिले एक मात्र भवन भएकाले तत्कालको लागि बालक (पुरुष) लाई मात्र स्थान्तरण गर्न लागिएको छ ।
देशका विभिन्न नौ स्थानमा सञ्चालित बाल सुधार केन्द्रमा क्षमताभन्दा बढी भएका बाल बिज्याइँकर्तालाई तत्कालै नुवाकोट स्थान्तरण गर्ने निर्णय गत पुस ३ मा मन्त्रिपरिषद्बाट भए पनि उनीहरूको लागी आवश्यक सुविधाको बन्दोबस्ती मिलाउन समय लागेको हो । कारागारमा निर्माण गरिएकामध्ये छुट्टै स्थानमा रहेको भवन (ब्लक नं ३) मा नेपाल प्रहरीको सुरक्षा पहरामा तोकिएका मापदण्डको सुविधासहित बाल बिज्याइँकर्तालाई स्थान्तरण गरेर ल्याइएको हो ।
उनीहरूलाई बन्दोबस्ती सहितको सुविधा उपलब्ध गराउने कार्य तत्कालका लागी केन्द्रीय कारागार नुवाकोटमार्फत भए पनि केही दिनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रतिनिधि खटाइ हुे प्रबन्ध मिलाइने उल्लेख छ । रासस




प्रतिक्रिया