काठमाडौं, १९ माघ । केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले ‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा यही माघ २५ गतेदेखि माघ २९ गतेसम्म चितवनको भरतपुरस्थित् चितवन प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय डेरी एक्सपो–२०८२ आयोजना गरेको छ ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले प्रदर्शनीको मुख्य उद्देश्यभ नेको उत्पादन र उद्यमशीलता प्रर्वद्धन गर्नु रहेको जनाएको छ । आयोजक संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उत्पादन र उद्यमशीलता प्रर्वद्धन, डेरी उत्पादन, प्रक्रिया र वितरणमा नवीनतम प्रविधि र अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जाल, तालिम, अनुदान र उद्यमशीलताको अवसर प्रदान गर्नु, गुणस्तर र जागरुकता वृद्धि, उपभोक्तालाई डेरी उत्पादनको महत्व, फाईदा र गुणस्तरको जानकारी प्रदान गर्दै नयाँ उत्पादन लञ्च, ब्राण्डिङ र सहकारीहरुलाई औद्योगिक उत्पादनमा प्रेरित गर्नु, डेरी उद्योगको उत्पादकत्व र कार्यदक्षता वृद्धि गरी दिगो र आर्थिक रुपमा फाइदाजनक बनाउन राज्यका पहलहरुमा छलफल र नयाँ कार्यदिशा सुझाव गर्नु, डेरीजन्य उत्पादनहरुको निर्यातका लागि वातावरण तयार गर्ने, डेरीजन्य उत्पादनको निर्यातको सम्भावना भएका देशका व्यवसायिक प्रतिनिधिहरुलाई प्रदर्शक तथा अवलोकनकर्ताको रुपमा आमन्त्रण गरी बि टु बि मिटिङ माध्यमबाट निर्यात सम्भावनाका विषयमा छलफल गरी डेरीजन्य उत्पादनको निर्यातको वातावरण तयार गर्ने प्रदर्शनीको मूख्य उद्देश्य रहेको छ ।’
प्रदर्शनीअन्तर्गत दोस्रो दिन मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, तेस्रो दिन दुध उत्पादनको वर्तमान अवस्था बजारको समस्या र समाधानका उपायहरुसम्बन्धी कार्यपत्र प्रस्तुतसहित अन्तरक्रियाको कार्यक्रम राखिएको आयोजकले जनाएको छ । प्रदर्शनमा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।
यस्तै, प्रदर्शनीमा अन्तर्राष्ट्रिय डेरी स्टलहरु, डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी, डेरी उद्योगकालागि उपयोगी सफ्टेवर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरु, पशुपालन आहारसम्बन्धीका स्टलहरु, पशु औषधी भेटनरी सेवा सम्बन्धीका स्टलहरु, डेरीलाई उपयोगी हुने प्याकेजिङका उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरु, स्टार्टअप प्याभिलियन लगायतका स्टलहरुको सहभागिता रहने जनाईएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष किशोर बगाले र चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जारी गरेको विज्ञप्तीमार्फत जनाईएको छ ।




प्रतिक्रिया