नेपालमा बोलिने विभिन्न भाषाहरु हाम्रा सम्पत्ति हुन्, मर्न दिन हुँदैनः प्रधानमन्त्री कार्की


काठमाडौं, १९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरु सम्पत्ति भएकाले मर्न दिन नहुने बताएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरक–फरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

आयोगका अध्यक्ष डा.गोपाल ठाकुरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मातृभाषा शिक्षासम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेश गरेको थियो ।

प्रतिवेदन ग्रहणपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रो देशमा १२४ वटा भाषा छन् । यी सबै हाम्रा सम्पत्ति हुन् । तर, यीमध्ये कतिपय लोप हुन लागेका छन् । कुनै पनि भाषा मर्न दिनुहुँदैन । प्रत्येक भाषा उत्तिकै महत्त्वपूर्ण छन् ।’

उनले भाषाको जगेर्ना गर्न यसखालका अध्ययन अनुसन्धान भइरहनुपर्ने धारणा पनि राखिन् ।