म यसपटक चुनाव नलडे पनि पार्टीका उम्मेदवारलाई जिताउन लागिपर्छुः रमेश लेखक


काण्ठमाडौं, १९ माघ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले अहिले लोकतन्त्र जोखिममा रहेको बताएका छन् । आज (सोमबार) कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा आफ्नो धारणा राख्दै नेता लेखकले अहिले मुलुक सहज अवस्थामा नरहेको र देशको संविधान लिक भन्दा बाहिर गएको बताएका हुन् ।

नेता लेखकले मुलुकको जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा विघटित अवस्थामा रहेको स्मरण गराउँदै लोकतन्त्र अप्ठ्यारोमा रहेको बताए । ‘लोकतन्त्र जोखिममा छ, अप्ठ्यारोमा छ । अवस्था सहज छैन,’– उनले भने । पूर्व गृहमन्त्रीसमेत रहेका लेखकले भदौ २३ र २४ गतेको घटना अत्यन्त दुःखद र अकल्पनीय रहेको बताए ।

नयाँ पुस्ताका युवा भाइ–बहिनीहरूले देशमा भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, सामाजिक सञ्जाललाई निर्वाध रूपले सञ्चालन गर्ने मागका साथ सडक प्रदर्शन गरेको भए पनि त्यसको परिणाम भने दुःखद आएको उनले बताए । जेन–जीहरुको सडक प्रदर्शनमा घुसपैठ भएको र लोकतन्त्रलाई कमजोर गर्ने गरी प्रदर्शन हाइज्याक गरिएको उनको दाबी छ । भदौ २३ गतेको दुःखद् घटनापछि आफूले सोही दिन साँझ नै गृहमन्त्रीबाट राजीनामा दिएको पनि उनले स्मरण गरे ।

आफू यसपटक चुनाव नलडे पनि पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने नेता लेखकले बताए । पार्टीभित्र अलिकता समस्या, दुविधाहरू र अन्तरसंघर्षको अजस्था रहेको अवस्था पनि उनले चित्रण गरे । नेता लेखकले निर्वाचनको मुखमा कांग्रेसका मानिसहरूले अहिले पार्टीभित्रको अन्तरसंघर्षका बारेमा छलफल गर्न छाडेर एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

पार्टीभित्र रहेको समस्या संवैधानिक रुपमा निरुपण हुने पनि उनले विश्वास व्यक्त गरे । पार्टीभित्रको द्वन्द्व थाती राखेर प्रतिस्पर्धा गर्न केन्द्रित हुनुपर्ने उनको भनाइ छ । ‘पार्टीभित्र केही समस्याहरू छन्, केही अन्तरसंघर्षहरू छन्, त्यसलाई हामीले वैधानिक रूपले पनि वैधानिक रूपले निर्णय गर्ने निकायले निर्णय गर्ला,’– उनले भने ।