अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएका बङ्गुर मर्न थाले


काठमाडौं, १९ माघ । तनहुँको ऋषिङ गाउँपालिका–७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् । स्थानीय ऋषिराम थापाले पालेका छ वटामध्ये पाँच वटा मरेको हो ।

करिब डेढ लाख मूल्य बराबरको पशुधनको क्षति भएको ऋषिङ गापा पशु शाखा प्रमुख एवं पशु स्वास्थ्य प्राविधिक पूजा खड्काले जानकारी दिए । उनका अनुसार ऋषिङ गाउँपालिका विभिन्न वडामा बिरामी भएका नौ वटा बङ्गुरमध्ये पाँच वटा मरिसकेको र चार वटा बिरामी रहेकाले पशुमा देखिएको लक्षणअनुरुप उपचार गरिएको छ ।

‘ऋषिङ गाउँपालिकाका वडा नं २, ४ र ७ मा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरका लक्षण देखिएका छन्,’ उनले भने, ‘भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौलीमा ‘¥यापिड टेस्ट’मा पोजेटिभ देखिएको छ ।’

मरेका बङ्गुरका नमूना सङ्कलन गरी थप पुष्टि गर्न पोखरा प्रयोगशालामा पठाउन लागिएको सो कार्यालयले जनाएको छ । किसानले कहाँबाट बङ्गुरका पाठापाठी ल्याइका हुन्, त्यस विषयमा परामर्श गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख रविन्सन अधिकारीले बताए । ‘अफ्रिकन स्वाइन फिभर बङ्गुरहरूमा लाग्ने अत्यन्तै घातक भाइरल रोग हो, जुन रोगको हालसम्म कुनै उपचार वा भ्याक्सिन उपलब्ध छैन,’– उनले भने ।

उक्त रोगले आक्रमण गर्दा बङ्गुरमा ज्वरो आउने, रातो धब्बा देखिने, झाडापखाला लाग्नेजस्ता लक्षण देखिन्छ । यस भाइरसबाट बच्न जैविक सुरक्षा अपनाउनु नै मुख्य उपाय मानिन्छ । फार्ममा अनावश्यक मानिस, सवारीसाधन, जनावरहरूको प्रवेश निषेध गर्ने, फार्म छिर्नु अघि जुत्ता–चप्पल सफा गर्ने र बेला बेलामा कीटाणुनाशक औषधि प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ ।