काठमाडौं, २० माघ । पूर्व डिआईजी रमेश खरेलले जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको वर्तमान नागरिक सरकारलाई फेलियरको संज्ञा दिएका छन् । उनले भने,‘जुन अपेक्षाको साथ यो नागरिक सरकार आएको थियो, यो फेल भएको छ । उसको काम खाली चुनाव चुनावमात्रै भनेको छ, चुनावमात्रै थिएन नि जेनजीको माग । ६ महिनामा सुशासन कायम गर्न नसकिएला, तर कम्तिमा पनि सुशासन कायम गर्नको लागि भोलिका दिनमा जो जो निर्वाचित भएर आउँछन्, उनीहरुलाई ट्रयाक त बनाउन सकिन्थ्यो नि ।’ तर, यो सरकारले खासै केही पनि बिगार्ने काम भने नगरेको उनको दाबी छ । उनले थपे,‘उहाँहरुले बिगारेको के हो भने बरु यो नागरिक सरकारमा पार्टीका मान्छे ल्याउनुभयो, नेपाली नागरिकले हेरिराखेका छैनन् र ?
खरेलले यसअघिका दुई वटा निर्वाचनमा आफू ब्याटल हारेको भएपनि अब रणनीतिक रुपमा एक कदम पछि हटेको बताएका छन् । दुई वटा निर्वाचन लडेको र पराजय ब्योहेका खरेललाई प्राइम टिभीको लोकप्रिय कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि थपलियाले यसपटक किन निर्वाचन लड्नुभएन भनेर सोधेको प्रश्नमा खरलले भने,‘सबभन्दा पहिला त म हारें, अंकगणितमा म हारें, ज जसले भोट दिनुभयो, उहाँहरुप्रति म आभारी छु । अहिले किन प्रतिष्पर्धाबाट ब्याक भएको भनेर तपाईंले सोध्नुभयो, लडाईंमा म हारेको छैन । तर, ब्याटलमा हारेको छु । अहिले एक कदम सोचेरै नै मैले विथड्रवल गरेको छु । मेरो लडाईं भनेको कुशासनविरुद्ध हो । भ्रष्टाचारविरुद्ध लडाईं हो । कानूनी राज्यको उल्लंघन हो ।’
पहिलो निर्वाचन काठमाडौं–१ बाट लडेका खरेल दोस्रो निर्वाचन भने बारा–२ को उपनिर्वाचनमा लडेका थिए । तर, उनको जमानत जफत भयो । तर, आफू बारामा चुनाव लड्न जाँदा त्यहाँका जनताले हार्दिकतापूर्वक स्वागत गरेकोमा भने उनले अहिलेपनि आभार प्रकट गरेका छन् । उपनिर्वाचनमा भने उनी रास्वपाबाट चुनावी मैदानमा थिए ।




प्रतिक्रिया