काठमाडौं, २० माघ । आम जनता पार्टीका सह–अध्यक्ष, संविधानसभा सदस्य तथा प्रतिनिधिसभाको निर्वाचनको लागि काठमाडौं–२ बाट उम्मेदवार रहेका तिलक बहादुर थापामगरले विगतमा आफूले आन्दोलनमार्फत पुर्याएको योगदान र निरन्तर सुकुम्वासी, लघुवित्त पीडितहरुको लागि लडेको स्मरण गराएका छन् ।
उनले आफू निरन्तर वित्तिय शोषणको विरुद्धमा पनि सक्रियताका साथ लडेको स्मरण गराएका छन् । सहकारी पीडितहरुले पनि न्याय पाउनुपर्ने र ठगहरुलाई कारबाहीकोलागि लड्दै आएको उनको भनाई छ । उनले भने,‘म काठमाडौं–२ का न्यायप्रेमी मतदाताहरुमा अपिल गर्दछु कि मलाई यसपटक सेवा गर्ने अवसर दिनुहोला । तपाईंहरुसामू वाचा गर्न चाहन्छु–पहिलो कुरा त म अहिलेको यो जुन राजनीतिक व्यवस्था छ, यसको सुधार गर्नेछु । यो व्यवस्था नै लुटकारी छ । सबै ठाउँमा भ्रष्टाचारको जरा गाडिएको छ, त्यसको अन्त्य चाहन्छु ।’
निर्वाचनको चुनावी प्रचारप्रसारको क्रममा सक्रिय रहेका थापाले आज भिडिओ सन्देश जारी गरेर आफ्नो चुनावी एजेण्डा साझा गरेका हुन् । उनले भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाहीको आवश्यकता रहेको औंल्याए । उनले आफू कर आतंकको अन्त्यको लागि पनि आफूले सक्रिय भूमिका खेल्ने विश्वास दिलाए ।
सुकुम्वासीहरुको लागि धनीपुर्जाको व्यवस्था गर्ने र अव्यवस्थित् बसोबासीहरुको लागि व्यवस्थित् बसोबासको व्यवस्था मिलाउने पनि उनले विश्वास दिलाएका छन् । नेपालमा वैज्ञानिक शिक्षा प्रणालीको आवश्यकता रहेको औंल्याउँदै थापाले उत्पादकमुखी शिक्षा प्रणालीको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
नेपालमा स्वास्थ्य प्रणाली पनि महँगो रहेको भन्दै निःशुल्क स्वास्थ्य प्रवन्धको लागि पहल गर्ने पनि उनले सुनाए । काठमाडौं–२ मा खानेपानीको हाहाकार रहेको भन्दै सबैको घरको धारामा खानेपानीको उचित व्यवस्था गर्नको लागि आफूले पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।




प्रतिक्रिया