हराएको ५५ वर्षपछि घरपरिवारसँग पुनर्मिलन


काठमाडौं, २० माघ । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । एक्काइस वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता भएका तुलाचन अहिले परिवारको सम्पर्कमा आएका हुन् ।

भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एकसाता अगाडि विभिन्न माध्यमबाट परिवारको सम्पर्कमा आएको उनका साहिला दाइ कृष्णप्रसाद तुलाचनले बताए ।

‘हामी अहिले मङ्गला गाउँपालिका–५ पाखुमा बस्दै आएका छौँ । लाहुरे हुने भनेर गएको भाइ घर आउने आश नै मारेका थियौँ । बूढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्यमबाट घर खोज्दै घरमा आएपछि हामीलाई सपनाजस्तै लागेको छ,’– उनले भने ।

कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा धनबहादुर घर फर्किएपछि परिवारमा खुशियाली छाएको छ । धनबहादुरलाई दाइ कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आर्एका छन् ।

तत्कालीन समयमा मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएर पैदलयात्रा र सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाइ छ । भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको धनबहादुरले बताए ।